Wednesday, April 22, 2015

बेहोस अवस्थामै एक महिला यौन हिंसाको शिकार

विराटनगर, वैशाख ८ : विराटनगरको व्यस्त ठाउँमै एक बेवारिसे महिला बेहोस अवस्थामा मंगलबार मध्यदिउँसो यौन हिंसामा परेकी छन् । स्थानीयले सबैले देख्ने ठाउँमा बेहोस भएर लडिरहेकी बेवारिसे महिलालाई एक अज्ञात युवकले सबैका अगाडि बेहोस अवस्थामै बलात्कार गरेर फरार भएको दाबी गरेका छन् । विराटनगर–१४ भानु टोलस्थित एम्स कलेज रोडको किनारमा मंगलबार दिउँसो तराई मुलकी एक महिला बेहोस अवस्थामा लडेकी थिइन् । राजमार्ग किनारमा झारमा एक घण्टादेखि लडेकी उनलाई कसैले सोधखोज गरेको थिएन । एक्कासि दिउँसो दुई बजेतिर प्लाष्टिक टिप्दै आएका एक युवकले बेहोस अवस्थामा लडिरहेकी उनलाई  बलात्कार गरेको प्रत्यक्षदर्शीेले बताए । महिलालाई यौन हिंसापछि ती युवा महिलालाई अलपत्र अवस्थामै छाडेर फरार भएका थिए । यस्तो घट्नादेखि सकेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीले महिला बलात्कार भएको भनिरहँदासमेत प्रहरीले भने घटनालाई गम्भीर रुपमा नलिएको स्थानीयले बताए । घटना थाहा पाएपछि प्रहरी घटनास्थल त पुग्यो तर बेहोस अवस्थामा रहेकी महिलालाई भने उद्धार गर्ने तत्परता भने देखाएन । बेहोस अवस्थामा रहेकी महिलालाई पानी खन्याएर प्रहरी यसै फर्कियो । “प्रहरीको यस्तो हर्कत देखेपछि हामीले घटनाको गाम्भीर्यतालाई बुझी महिला अधिकारकर्मी र प्रहरीका जिल्लाका उच्च अधिकृतलाई फोन गरेर घटनाका विषयमा जानकारी गरायौं,”  एक स्थानीयले भने, “त्यसपछि मात्र प्रहरी दोस्रोपटक घटनास्थलमा पुगी अलपत्र अवस्थामा लडिरहेकी ती महिलालाई अस्पताल पु¥यायो ।” महिलाको कोशी अञ्चल अस्पतालको इमरजेन्सी विभागमा अर्धचेत अवस्थामा उपचार भइरहेको छ । स्थानीय प्रत्यक्षदर्शीहरुले खुलेर बलात्कार भएको बताए पनि प्रहरीले भने बलात्कार भने नभएको भन्दै घटना ढाकछोप गर्न खोजेको दाबी गरेका छन् । मोरङका प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले क्यामेरामा नबोल्ने भन्दै महिलाको उद्धार गरेर अस्पताल पु¥याइएको र थप अनुसन्धान भइरहेको बताउनुभयो । स्थानीयले दिएको हुलियाका आधारमा आरोपीलाई पक्राउ गर्न टोली परिचालन गरेको उहाँले जानकारी दिनुभयो । प्रहरीले महिलालाई अस्पताल लिएर गएपछि केही महिला अधिकारकर्मीहरु पनि घटनास्थल पुगेका थिए । महिला अधिकारकर्मीहरुले सोधपुछ गरेअनुसार उक्त महिलाले आफू विराटनगरवासी भएको र आफूमाथि बलात्कार भएको बताएकी छन् । अस्पतालमा उपचाररत ती महिलाले आफ्नो पूरा नाम ठेगाना केही पनि बताउन सकेकी छैनन् ।  

No comments:

Post a Comment